सबै पक्षलाई संयमता अपनाई तत्काल युद्ध रोक्न राष्ट्रसङ्घको आह्वान

एजेन्सी, १८ फागुन । अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टिनियो गुटरेसले तत्काल युद्धविराम, संयमता र नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले आक्रमणलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् । तर इरानले शक्तिको प्रयोगमार्फत कुनै राष्ट्रको राजनीतिक भविष्य निर्धारण गर्न नहुने भन्दै कडा आपत्ति जनाएको छ ।

रुसले यसलाई ‘कूटनीतिक प्रयासमाथिको विश्वासघात’ भनेको छ । चीनको विदेश मन्त्रालयले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको घटनालाई इरानको सम्प्रभुतामाथिको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेको छ । आक्रमणपछि मध्यपूर्वका धेरै देशहरूले आंशिक वा पूर्ण रूपमा हवाई क्षेत्र बन्द गरेका छन् । हजारौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

विश्व बजारमा कच्चा तेलको मूल्य झन्डै ९ प्रतिशतसम्म बढेको छ । इरानले जवाफी कारबाहीस्वरूप खाडी क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी नौसैनिक अड्डाहरु निसानामा परेका छन् । यसैबीच अमेरिकी आक्रमणको विरोधमा पाकिस्तानको कराँचीमा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शनका क्रममा हिंसात्मक घटना हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार २४ घण्टामा इरानका एक हजार भन्दा बढी ठाउँमा आक्रमण भएका छन् । अमेरिकी गुप्तचर निकायको सूचनाको आधारमा गरिएको आक्रमणमा इरानका शीर्ष अधिकारीहरू मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आजदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आए । फिल्महरू ‘आचार्य’, ‘बा: एक योद्धा’

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि