अफगानिस्तान–पाकिस्तान सीमामा भीषण आक्रमण

एजेन्सी, १५ फागुन । बिहीबार अफगानिस्तान र पाकिस्तान दुवैले सीमावर्ती क्षेत्रमा लडाइँ भएको स्वीकार गरेका छन् ।

यद्यपि, जमिनको वास्तविक अवस्था तथा एकअर्काको क्षति वा उपलब्धिको सम्बन्धमा दुवै पक्षका दाबीमा उल्लेख्य भिन्नता देखिएको पाकिस्तानी अखबार डनले जनाएको छ । दुवै पक्षले मंगलबार पनि सीमापार गोलीबारी भएको रिपोर्ट गरेका थिए । तर, त्यसमा कुनै मानवीय क्षति भएको थिएन ।

लडाइँबारे अफगानिस्तानले के भन्यो ?
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले स्थानीय समयअनुसार बिहीबार ढिलो गरी सीमावर्ती क्षेत्रमा लडाइँ भइरहेको जानकारी दिएका थिए । उनले यसलाई आइतबारको हवाई आक्रमणको जवाफका रूपमा चित्रण गरेका छन्, जसलाई अफगानिस्तानले अनधिकृत घुसपैठ भन्दै भर्त्सना गरेको थियो ।

‘एक्स’को एक पोस्टमा मुजाहिदले लेखेका छन्, “पाकिस्तानी सेनाको पटक–पटकको विद्रोह र उपद्रवको जवाफमा, ड्युरेन्ड लाइन आसपासका पाकिस्तानी सैन्य आधार शिविर र सैन्य संरचनाविरुद्ध ठूलो स्तरको आक्रामक कारबाही सुरु गरिएको छ ।” 

ड्युरेन्ड लाइन दुई देशबीचको दुई हजार ६११ किलोमिटर लामो सीमारेखा हो, जसलाई अफगानिस्तानले औपचारिक रूपमा मान्यता दिएको छैन ।

केही तस्बिरहरूसहित मुजाहिदले लगातार धेरै पोस्ट गर्दै सीमामा भएका सैन्य उपलब्धिहरूको दाबी गरेका थिए ।

धेरैजसो पोस्टहरू एउटै ढाँचाका थिए, जसमा कुनै निश्चित जिल्लाको सैन्य संरचना वा पोस्ट कब्जा गरिएको घोषणा गरिन्थ्यो र अन्त्यमा एउटै वाक्य दोहोर्‍याइन्थ्यो—“शत्रुका ठूलो संख्यामा सैनिकहरू मारिएका र घाइते भएका छन्, र केहीलाई जीवितै नियन्त्रणमा लिइएको छ ।” 

स्थानको नाम र हताहत भएको भनिएकाहरूका फाट्टफुट्ट तस्बिरबाहेक अन्य विस्तृत विवरण भने दिइएको थिएन ।

अफगानिस्तानको रक्षा मन्त्रालयले पाँचवटा प्रान्तमा सैन्य कारबाही भइरहेको जनाएको छ । तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले अंग्रेजी भाषाको एक पोस्टमा ५५ जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन् । उनका अनुसार मारिएका मध्ये २३ जनाको शव अफगानिस्तान ल्याइएको छ । केही सैनिकहरूलाई नियन्त्रणमा लिइएको छ, यद्यपि तिनको संख्या खुलाइएको छैन ।

पाकिस्तानले काबुल र कान्दाहारमा आक्रमण गरेको दाबी, तालिबानको दाबी अस्वीकार
यसैबीच, पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले हताहत, कब्जा र क्षेत्रीय क्षतिको दुवै दाबी अस्वीकार गरेका छन् । उनका अनुसार दुईजना पाकिस्तानी सैनिक मारिएका छन् । तीनजना घाइते भएका छन् ।

‘एक्स’मा लेख्दै उनले पाकिस्तानले अफगानिस्तानबाट भएको बिना उक्साहटको आक्रमणको सशक्त र प्रभावकारी जवाफ दिइरहेको र इस्लामाबादले यसो गर्न जारी राख्ने बताएका छन् ।

पाकिस्तानी बयानपछि काबुलमा विस्फोट भएका रिपोर्टहरू सार्वजनिक भएका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ अली जैदीले भने, “कुल १३३ अफगान तालिबान मारिएको पुष्टि भएको छ । २०० भन्दा बढी घाइते भएका छन् । काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यहरूमा गरिएका आक्रमणहरूमा अझ धेरै क्षति भएको अनुमान गरिएको छ ।” डीडब्ल्यू

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक

काठमाडौँ, १६ असोज । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर

काठमाडौँ, १६ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । साल्ट ट्रेडिङ

काठमाडौँ, १६ असोज । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी