एजेन्सी, १४ फागुन । पाकिस्तानले हालै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । दर्जनौँ शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
अफगानिस्तानमा हवाई आक्रमण गरेपछि लडाकु समूहहरूबाट हुने आक्रमणमा वृद्धि हुन सक्ने आशंका इस्लामावादले गरेको छ ।
पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरीले भने, “जब–जब हामी अफगानिस्तानमा रहेका उनीहरूका अड्डाहरूमा आक्रमण गर्छौं, लडाकुहरूले सधैँ प्रतिक्रिया दिने गर्छन् ।”
पाकिस्तानले गत सप्ताहान्तमा अफगानिस्तानमा हवाई हमला गरेको थियो । पाकिस्तानले आफ्नो देशमा भएका आत्मघाति हमलाका लागि जिम्मेवार लडाकुहरूका अड्डाहरूलाई निशाना बनाएको बताएको थियो ।
पाकिस्तानले अफगानिस्तानले आफ्नो देशमा हमला गर्ने लडाकुहरूलाई शरण दिने गरेको आरोप लगाउँदै आएको छ ।
काबुलले भने यी आरोपहरूलाई अस्वीकार गर्दै उग्रवाद पाकिस्तानको आन्तरिक समस्या भएको बताउँदै आएको छ ।
समाचार संस्था रोयटर्सले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानका गुप्तचर निकायहरूले आगामी दिनहरूमा लडाकु समूहका आक्रमणहरू बढ्न सक्ने भन्दै ‘अलर्ट’ जारी गरेको बताएको छ ।







