एजेन्सी, ५ फागुन । स्पेन सरकारले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी बनाइएका बाल यौन दुरुपयोगसम्बन्धी सामग्री फैलाएको आरोपमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स, मेटा र टिकटकमाथि अनुसन्धान गर्न सरकारी अभियोजकलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री पेड्रो सान्चेजले आज आफ्नो एक्स अकाउन्टमार्फत यी प्लेटफर्महरूले बालबालिकाको मानसिक स्वास्थ्य, सम्मान र अधिकारलाई कमजोर बनाएको आरोप लगाए । राज्यले यस्ता गतिविधि सहन नसक्ने भन्दै सान्चेजले ठुला प्रविधि कम्पनीहरूको दण्डहीनता अन्त्य हुनुपर्ने बताएका छन् ।
यो घोषणा युरोपेली नियामक निकायहरूले बिग ठुला प्राविधिक कम्पनीहरू विरुद्ध कडा कदम चालिरहेको समयमा आएको हो । नियामकहरूले डिजिटल विज्ञापनमा प्रतिस्पर्धा विरोधी व्यवहार र सामाजिक सञ्जालमा लत लगाउने डिजाइन प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।
यसअघि सान्चेजले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्तावसहित अनलाइन दुरुपयोग नियन्त्रणका उपायहरू घोषणा गरेका थिए । हाल फेसबुक र टिकटक लगायत सामाजिक सञ्जाल प्रयोग गर्न पाउने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । स्पेनमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको समर्थन बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।







