काठमाडौँ, २९ माघ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३:१५ बजे सुरु हुँदैछ । पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको थियो । नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ । अहिलेसम्म विश्वकपमा जितबिहीन नेपालले इटालीलाई पराजित गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्य राखेको छ ।
नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो ।







