काठमाडौँ, २७ माघ । आमिर खान प्रोडक्सन्सले आफ्नो बहुप्रतिक्षित पिरियड ड्रामा ‘लाहौर १९४७’ को प्रदर्शन मिति सार्वजनिक गरेको छ ।
भारतीय स्वतन्त्रता दिवसको सातालाई लक्षित गर्दै यो फिल्म सन् २०२६ अगस्ट १३ मा विश्वभरका सिनेमाघरमा रिलिज हुने भएको हो ।
यस फिल्ममार्फत बलिउडका तीन दिग्गज हस्तीहरू अभिनेता सनी देओल, निर्देशक राजकुमार सन्तोषी र निर्माता आमिर खान पहिलोपटक एकैसाथ सहकार्य गर्दैछन् ।
फिल्मको बारेमा बोल्दै निर्माता आमिर खानले यो स्क्रिप्ट लिजेन्ड अभिनेता धर्मेन्द्रको सबैभन्दा मनपर्ने कथाहरूमध्ये एक रहेको बताएका छन्। धर्मेन्द्रले यो फिल्म हेर्न पाएको भए आफूलाई अझ बढी खुसी लाग्ने भन्दै आमिरले यस प्रोजेक्टप्रति आफ्नो भावनात्मक लगाव व्यक्त गरेका छन् ।
फिल्ममा सन्नी देओलका साथै शबाना आजमी, प्रीति जिन्टा र सन्नीका छोरा करण देओलको मुख्य भूमिका रहनेछ। करणले यस फिल्ममा एक महत्वपूर्ण र चुनौतीपूर्ण भूमिका निभाएको बताइएको छ ।






