काठमाडौँ, २७ माघ । सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको बहुप्रतिक्षित खेल खेल्न पाकिस्तान तयार भएको छ ।
१० दिन अगाडि भारतसँग खेल्न पाकिस्तानले अस्वीकार गरेपछि सिर्जना भएको लामो गतिरोध अन्त्य भएको हो ।
पाकिस्तान सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आगामी फेब्रुअरी १५ मा कोलम्बोमा दुई देशबीचको खेल हुने सुनिश्चित गरेका हुन् ।
पाकिस्तान सरकारका अनुसार श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) लगायतका आईसीसी सदस्य राष्ट्रहरूले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए ।
खेल नभएमा अन्य सहभागी राष्ट्रलाई समेत ठूलो आर्थिक नोक्सानी हुने भन्दै ती देशहरूले चिन्ता व्यक्त गरेका थिए।
यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच पनि टेलिफोन संवाद भएको बताइएको छ।






