लन्डन, १७ माघ । बेलायतमा नेपाली विद्यार्थीका समस्या र अवसरबारे पहिलो पटक सम्मेलनको आयोजना गरिएको छ ।
लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल सोसाइटी (बीएनएस) को सहकार्यमा ‘बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका सरोकार’ विषयमा लन्डनस्थित नेपाली दूतावासमा पहिलो पटक जनवरी २९ मा एक दिने सम्मेलन गरिएको हो।
बेलायतका विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएकाले सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले पाएको शैक्षिक सफलता र अनुभवप्रति खुसी व्यक्त गरे । दूतावासमा आएका विद्यार्थीका गुनासा, उनीहरूले भोगेका समस्या र त्यसको समाधानका लागि दूतावासले गरेका प्रयासबारे जानकारी दिँदै अभिभावक, शैक्षिक परामर्शदाता, विश्वविद्यालय, समुदायका अगुवा र नेपाल–बेलायत दुवै सरकारबिच अर्थपूर्ण समन्वय र सहकार्य आवश्यक रहेको दुवाडीले बताए ।
बीएनएसका अध्यक्ष निक हिन्टनले सम्मेलनले बेलायतमा अध्ययनरत विद्यार्थीको यात्रालाई थप सहज बनाएको बताउँदै समुदाय र दूतावाससँग मिलेर आवश्यक जानकारी दिने, नीतिगत जानकारी दिने र आवश्यक परे सहयोग गर्न बीएनएस तयार रहेको बताए। छलफलबाट बनेको सहमतिले विद्यार्थीलाई पढाइमा ध्यान दिन सजिलो हुने उनको भनाइ थियो।
नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्दै सहभागीका जिज्ञासाको जवाफ दिए। उनले उच्च शिक्षासम्बन्धी कानुन र नियमहरू पुनरावलोकन गर्ने, शैक्षिक परामर्शदाताहरूको निगरानी गर्ने र समस्यामा परेका विद्यार्थीका लागि सहयोग संयन्त्र बलियो बनाउने विषयमा मन्त्रालय तयार रहेको स्पष्ट पारे।






