एजेन्सी, ७ माघ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले मंगलबार युरोप कुनै पनि प्रकारको धम्की सामु नझुक्ने र नडराउने बताएका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरे । युरोपले ग्रीनल्यान्ड कब्जा गर्न नदिएमा ट्रम्पले भारी ‘ट्यारिफ’ (भन्सार शुल्क) लगाउने धम्की दिएपछि म्याक्रोँको यो प्रतिक्रिया आएको हो ।
अन्य युरोपेली नेताहरूले ट्रान्स–एट्लान्टिक विवाद नबढोस् भनेर संयमित भइरहेका बेला म्याक्रोंले भने कडा प्रतिवाद गरेका छन् । डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै म्याक्रोंले फ्रान्स र युरोपले बलियो कानुनलाई निष्क्रिय स्वीकार नगर्ने बताए । उनले त्यसो गर्नु अरूको दासत्वस्वीकार गर्नु सरह हुने टिप्पणी गरे ।
उनले अगाडि भने, “विश्व अराजकतातर्फको बाटोमा लम्किरहेको अवस्थाका बावजुद युरोपले क्षेत्रीय सार्वभौमसत्ता र विधिको शासनको पक्षमा अडान लिइरहनेछ ।” उनले यसको बदलामा युरोपेली संघले पनि अमेरिकामाथि आफ्नै कडा व्यापारिक प्रतिबन्धहरू लगाउन सक्ने संकेत उनले दिए ।
म्याक्रोंले स्पष्ट शब्दमा भने, “हामी गुण्डागर्दी भन्दा सम्मानलाई प्राथमिकता दिन्छौँ । र, हामी क्रूरताभन्दा विधिको शासनलाई रोज्छौँ ।” आफ्नो सम्बोधनका क्रममा म्याक्रोंले ‘एभिएटर सनग्लास’ लगाएका थिए, जुन आँखाको रक्तनली फुटेका कारण सुरक्षाका लागि लगाइएको एलिसी प्यालेसले जनाएको छ ।
ट्रम्पले फ्रान्सेली वाइन र स्याम्पेनमा ठूलो भन्सार शुल्क लगाउने धम्की दिएपछि र म्याक्रोंसँगको निजी सन्देश सार्वजनिक गरेर कूटनीतिक मर्यादा उल्लंघन गरेपछि यो भाषण आएको हो ।
ट्रम्पले अमेरिकालाई ग्रीनल्याज्ड प्राप्त गर्न नदिएसम्म फ्रान्सलगायत धेरै युरोपेली सहयोगीहरूमाथि फेब्रुअरी १ देखि भन्सार शुल्क बढाउने बताएका छन् । यसलाई प्रमुख ईयू राष्ट्रहरूले ब्ल्याकमेलको संज्ञा दिएका छन् ।
युरोपेली संघका नेताहरूले ग्रीनल्यान्डको विषयमा छलफल गर्न बिहीबार साँझ ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन बोलाउने निर्णय गरेका छन् ।
यदि, तनाव बढ्दै गएमा ईयूले अमेरिकाको ९३ अर्ब युरो बराबरको सामानमा फेब्रुअरी ६ देखि भन्सार शुल्क लगाउन सक्छ ।
म्याक्रोंले ईयूलाई आफ्नो ‘व्यापारिक ब्याजुका’ प्रयोग गर्न दबाब दिएका छन्, जसले अमेरिकी प्रविधि प्लेटफर्म र सार्वजनिक टेन्डरहरूमा पहुँच सीमित गर्न सक्छ ।
आर्कटिक टापु ग्रीनल्यान्डलाई नेटो सदस्य राष्ट्र डेनमार्कबाट खोस्ने ट्रम्पको प्रयासले युरोपेली उद्योग र वित्तीय बजारमा हलचल पैदा गरेको छ । यसका साथै, ट्रम्पले नेतृत्व गर्न चाहेको नयाँ अन्तर्राष्ट्रिय संगठन ‘बोर्ड अफ पिस’मा सहभागी हुन फ्रान्सले देखाएको अनिच्छाले पनि ट्रम्प क्रुद्ध बनेका छन् ।
म्याक्रोंको अडानबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “म उनको वाइन र स्याम्पेनमा २०० प्रतिशत शुल्क लगाइदिन्छु, त्यसपछि उनी सहभागी हुनेछन् । तर, उनी सहभागी हुनैपर्छ भन्ने छैन ।”
यसैबीच, ट्रम्पले म्याक्रोंसँगको निजी कुराकानीको स्क्रिनसट आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा सार्वजनिक गरिदिएका छन् । उक्त कुराकानीमा म्याक्रोंले ट्रम्पलाई भनेका थिए, ‘ग्रीनल्यान्डबारे तपाईं के गर्दै हुनुहुन्छ, मैले बुझ्न सकेको छैन ।’
म्याक्रोंले डाभोसमा आफ्नो बसाई लम्ब्याउने कुनै योजना नरहेको पुष्टि गरेका छन् । ट्रम्प बुधबार डाभोस आइपुग्दा म्याक्रों त्यहाँबाट प्रस्थान गरिसक्नेछन् । सन् २०१७ देखि फ्रान्सको नेतृत्व गरिरहेका म्याक्रोंको ट्रम्पसँगको सम्बन्ध उतारचढावपूर्ण रहेको छ । राेयटर्स






