एजेन्सी, ६ माघ । अफगानिस्तानको काबुलस्थित सहर–ए–नाव क्षेत्रमा रहेको एक होटेलमा भएको विष्फोटमा एक चिनियाँ नागरिकसहित सातजनाको मृत्यु भएको छ ।
समाचार संस्था एएनआईका अनुसार विष्फोटको कारणबारे अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् । होटेलभित्र रहेको ग्यास सिलिन्डर चुहिएर विष्फोट भएको र यसमा कर्मचारीको लापरबाही रहेको बताइएको छ । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानका अनुसार उक्त विष्फोट चिनियाँ मुस्लिम र अफगानीहरूको संयुक्त होटेल ‘चिनियाँ नुडल’मा भएको हो ।
उनले थप जानकारी दिँदै चीनको सिनजियाङ प्रान्तका बासिन्दा अब्दुल मजिद (चिनियाँ मुस्लिम) पनि मृतकहरूमध्ये एक रहेको बताए । उक्त होटेल अब्दुल मजिद नामक चिनियाँ मुस्लिम, उनकी श्रीमती र अब्दुल जब्बार महमुद नामक अफगान नागरिकले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए ।
जद्रानले अन्य ६ जना अफगानीको मृत्यु भएको बताए । ठूलो संख्यामा घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैबीच, अल जजिराका अनुसार इटालेली गैरसरकारी संस्था ‘इमर्जेन्सी’ले काबुलमा आफूले रेखदेख गर्ने एउटा चिकित्सा केन्द्रमा विष्फोटका २० जना घाइते ल्याइएको र तीमध्ये सात जनाको अस्पताल पुग्दासम्म नै मृत्यु भइसकेको बताएको छ । संस्थाले हताहतीको यो संख्या अझै प्रारम्भिक रहेको जनाएको छ । गल्फन्युज







