इन्डोनेसियाद्वारा ग्रोक एआई निलम्बित

एजेन्सी, २७ पौष । इन्डोनेसियाले एआईबाट उत्पन्न हुने अश्लील सामग्रीसम्बन्धी गम्भीर चिन्तालाई मध्यनजर गर्दै एलन मस्कको स्वामित्वमा रहेको एआई च्याटबट ग्रोकलाई अस्थायी रूपमा निलम्बन गरेको छ । देशका सञ्चार तथा डिजिटल मामिलामन्त्री मेउत्या हफिदले शनिबार यसबारे जानकारी दिएका हुन् ।

ग्रोकको छवि निर्माण सुविधाले साधारण पाठ निर्देशनमार्फत महिला र बालबालिकाको तस्बिरलाई यौनिक रूपमा प्रस्तुत गर्न सकिने खुलासा भएपछि विश्वव्यापी आलोचना सुरु भएको थियो । यही पृष्ठभूमिमा इन्डोनेसिया ग्रोकमा पूर्ण पहुँच रोक्ने पहिलो देश बनेको हो । यसअघि अन्य मुलुकहरूमा भने प्रतिक्रिया स्वरूप यो सुविधा भुक्तान गर्ने प्रयोगकर्ताहरूमा मात्र सीमित गरिएको थियो ।

मन्त्री हफिदले जारी गरेको विज्ञप्तिमा सरकारले महिला, बालबालिका र आम नागरिकलाई एआई प्रविधिबाट उत्पन्न नक्कली अश्लील सामग्रीको जोखिमबाट जोगाउन यस्तो निर्णय गरेको स्पष्ट पारेका छन् । उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी बनाइने गैर–सहमति डिपफेक सामग्री मानव अधिकार, मानवीय गरिमा र डिजिटल क्षेत्रमा नागरिकको सुरक्षामाथि गम्भीर आक्रमण हो’ भन्दै सरकार यस्ता अभ्यासप्रति शून्य सहनशीलतामा रहेको बताएका छन् ।

मन्त्रालयले यस विषयमा थप स्पष्टीकरणका लागि सामाजिक सञ्जाल प्लेटफर्म एक्सका प्रतिनिधिहरूलाई पनि बोलाएको जनाएको छ । इन्डोनेसियाली अधिकारीहरूले डिजिटल प्लेटफर्महरूले प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने र कानुनी तथा नैतिक दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

जकार्तामा रहेका एएफपी संवाददाताहरूका अनुसार शनिबार साँझसम्म ग्रोकको एक्स खाता भने सक्रिय नै देखिएको थियो । च्याटबटले बहासा इन्डोनेसियासहित विभिन्न भाषामा सोधिएका प्रश्नहरूको उत्तर दिइरहेको पाइएको छ । यद्यपि सरकारी निलम्बनपछि इन्डोनेसियामा ग्रोक अनुप्रयोगमार्फत सीधा पहुँच अवरुद्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत