एजेन्सी, २५ पौष । अमेरिकी सिनेटमा बिहीबार एउटा प्रस्ताव पेस गरिएको छ, जसको अनुमोदनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटको पूर्वस्वीकृतिबिना भेनेजुएलाविरुद्ध थप कुनै पनि सैन्य कारबाही गर्न पाउने छैनन् ।
सिनेटमा यो प्रस्ताव ५२–४७ को मतले अगाडि बढेको छ, जसलाई सबै डेमोक्रेट सांसद र केही रिपब्लिकन सांसदले समर्थन गरेका छन् । अब यस विषयमा सिनेटमा बहस हुने रोयटर्सले जनाएको छ ।
अमेरिकी सिनेटको यो प्रस्तावले भेनेजुएलाको तेल निर्यातमा नियन्त्रण गर्ने ट्रम्पको चाहनामा धक्का पुर्याउन सक्छ ।
यो प्रस्ताव केन्टकीका रिपब्लिकन सिनेटर र्यान्ड पलले पेस गरेका हुन् । अब यो प्रस्तावमा सदनमा छलफल हुनेछ र अर्को हप्ता मतदान हुनसक्ने सम्भावना छ ।
यद्यपि, सिनेटबाट पारित भए पनि यो प्रस्तावलाई तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स)को पनि स्वीकृति आवश्यक पर्नेछ ।
अघिल्लो महिना तल्लो सदनमा यस्तै खालको एउटा प्रस्ताव पारित हुन सकेको थिएन । यो प्रस्तावलाई राष्ट्रपतिले ‘भिटो’ मार्फत खारेज गर्ने अधिकार पनि रहन्छ ।
भेनेजुएला सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्ने
यसैबीच, भेनेजुएला सरकारले ठूलो संख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले यस निर्णयलाई शान्ति कायम राख्न चालिएको एकपक्षीय पहल भनेको छ । तर, यसलाई विपक्षी र अमेरिकाको दबाबको परिणामका रूपमा हेरिएको छ ।







