काठमाडौँ, १६ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् ।
आज नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अब नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको बताए ।
उनले भने, “जेनजी आन्दोलनले आत्मसमीक्षा गर्न उत्प्ररित गर्यो । हामी सबैकाअगाडि आत्मसमीक्षा गर्न जरुरी छ । नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको अवश्यकतालाई अगाडि बढ्ने वा आफ्नो औचित्य सकियो भनेर पन्छिने अवस्था बनाइदिएको छ,” ।
देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गरे । अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका उनको भनाइ छ ।
उनले भने, “देश निकै अप्ठ्यारो परिस्थितिबाट ग्रुजिएको छ । यो विरलै आउने संकट हो । हामीले यो संकटको समाधान गर्ने भनेको सर्वपक्षीय सहमतिबाट अघि बढ्नुपर्छ । सर्वपक्षीय संकल्पबाट अघि बढ्ने वातावरण बनेको छ,” ।






