काठमाडौँ, १६ पौष । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज करिब ११ अंक बढेको छ ।
सेयर बजार १०.८७ अंक बढ्दै बजार मापक २६३३.७६ विन्दुमा उक्लिएको हो । बजार बढ्दा १६३ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनी स्थिर रहे ।
बजारसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । बुधबार पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ६३ हजार ९८१ पटकमा किनबेच भएको छ । मंगलबार बिदा रहेको बजार सोमबार चार अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो ।
एसवाई प्यानल र न्यादी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । १० प्रतिशत बढ्दै एसवाई प्यानलको प्रतिकित्ता सेयर मूल्य ९६८ तथा न्यादी ४१० रुपैयाँ पुगेको छ ।
यस्तै पियोर इनर्जी, थ्रीस्टार हाइड्रो, श्रीनगर एग्रीटेक लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । विन नेपाल १० प्रतिशत घट्दा प्रतिकित्ता १३४६.५० रुपैयाँमा झरेको छ ।






