पोखरा, १६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने हैसियतको मत प्राप्त गर्ने दाबी गरेका छन्।
आज पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आगामी दिनमा पार्टीले प्राप्त गर्ने जनमतप्रति आफू पूर्ण विश्वस्त रहेको बताए । कति मत वा नतिजा आउँछ भन्ने यकिन संख्या नतोके पनि उनले देशको आवश्यकता सम्बोधन गर्न सक्ने नतिजा आउनेमा आफू ढुक्क रहेको प्रष्ट पारे।
उनले भने, ‘संख्या त म आज भन्न सक्दिनँ, तर मलाई लाग्छ हामीले चाहेका अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने मत हामीले प्राप्त गर्छौं,’ ‘यसले हाम्रो राष्ट्रिय सपना र राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने तहको मत ल्याउँछ भन्ने मेरो विश्वास छ।’
उनले पार्टीले नागरिकलाई आफ्नो र देशको भविष्य आफैँ लेख्न सक्ने स्थानमा पुर्याइदिएको जिकिर गरे। ‘आफ्नै हातले यो देशको भविष्य लेख्न सक्ने ठाउँमा हामीले पुर्याइदिएका छौँ, बाँकी कुरा नागरिकको विवेकमा छोडौँ,’ उनले भने।






