काठमाडौँ, १५ पौष । विश्वचर्चित अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएकी छन् ।
फोर्ब्स म्यागजिनले उनलाई विश्वकै धनी संगीतकर्मीको सूचीमा समावेश गर्दै अर्बपतिको घोषणा गरेको हो ।
यो उपलब्धिसँगै उनी टेलर स्विफ्ट, रिहाना, ब्रुस स्प्रिंगस्टीन र आफ्नै पति जे-जी जस्तै १० अंकको सम्पत्ति भएका हस्तीहरूको समूहमा पुगेकी छन् । यसअघि फोर्ब्सले उनको कुल सम्पत्ति ८० करोड डलर अनुमान गरेको थियो । तर पछिल्लो समय उनको ‘रेनेसाँ वर्ल्ड टुर’ र सन् २०२४ को चर्चित एल्बम ‘काउब्वाई कार्टर’ को अभूतपूर्व सफलताले उनलाई अर्बपतिको श्रेणीमा पुर्याएको हो ।
उनको सन् २०२३ को सांगीतिक भ्रमणबाट मात्रै करिब ६० करोड डलर संकलन भएको थियो । यस्तै, उनले आफ्नै कन्सर्ट फिल्म एएमसी थिएटरसँग सिधा सम्झौता गरी वितरण गरेकी थिइन्, जसको आम्दानीबाट उनले मोटो रकम हात पारिन् ।






