काठमाडौँ, १४ पौष । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा एकपछि अर्को ठुला रेकर्ड बनाएको छ ।
प्रदर्शनको २३औँ दिनसम्म आइपुग्दा यसले विश्वभर १०२६ करोड भारुको सानदार कलेक्सन गरेर बलिउड इतिहासकै चौथो धेरै कमाउने फिल्मको सूचीमा आफ्नो नाम लेखाएको छ ।
चौथो शनिबार मात्रै २०.९० करोड कमाउँदै यसले रणवीर कपूरको ‘एनिमल’ लाई समेत पछि पारिदिएको छ।
डिसेम्बर ५ मा रिलिज भएको यो फिल्म आमिर खानको दंगल (२०४० करोड), शाहरुख खानको जवान (११४८ करोड) र पठान (१०५० करोड) पछि चौथो स्थानमा छ ।
फिल्मको कमाइको गति हेर्दा चौथो आइतबारसम्ममा यसले शाहरुखको ‘पठान’ को रेकर्ड सजिलै तोड्ने अनुमान गरिएको छ । हिन्दी फिल्मको इतिहासमा मात्र नभई भारतका सबै भाषाहरूको सूचीमा पनि यो अहिले नवौँ स्थानमा पर्न सफल भएको छ।
यस वर्षकै सबैभन्दा ठुलो ब्लकबस्टर साबित भएको ‘धुरन्धर’ को सफलतापछि निर्माण पक्षले यसको दोस्रो भागको समेत घोषणा गरिसकेको छ। ‘धुरन्धर २’ सन् २०२६ मार्च १९ मा रिलिज हुने तय भएको छ।






