मस्को कार बम विस्फोटमा रुसी जनरलको मृत्यु

एजेन्सी, ८ पौष । रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ ।

रुसी अनुसन्धानकर्ताहरूले यो विस्फोटको सम्बन्ध ‘युक्रेनी स्पेसल फोर्सेस’सँग छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेका बताएका छन् ।

मृत्यु भएका सैन्य अधिकारीको नाम लेफ्टिनेन्ट जनरल फेनिल सार्भारोभ रहेको बताइएको छ । उनी रसियन जनरल स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए । 

सोमबार बिहान भएको विस्फोटभन्दा केही घण्टा अघिमात्र मियामीमा रुसी र युक्रेनी प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा वार्ता भएको थियो ।

घटना हुँदा सार्भारोभ ‘किआ एसयूभी’ चलाइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । बिहानको समयमा उनी एक पार्किङ क्षेत्रबाट निस्किएलगत्तै कारमुनि राखिएको बम विस्फोट भयो । एएफपीका अनुसार बम उनीहरूको कारमुनि नै राखिएको थियो ।

रुसको ‘स्टेट इनभेस्टिगेटिभ कमिटी’ले सम्बन्धित विस्फोटको एक भिडियो जारी गरेको छ, जसमा क्षतिग्रस्त कार देखिएको छ । ड्राइभर सिटमा रगत देखिन्छ र कारको एक ढोका उछिट्टिएरको छ । एएफपीले घटनास्थलमा पुगेका आफ्ना पत्रकारहरूलाई उद्धृत गर्दै विस्फोटको कारण कारको फ्रेम मोडिएको बताएको छ ।

अनुसन्धान समितिकी एक प्रवक्ताले भनिन्, “हत्या सम्बन्धी विभिन्न विवरणहरूको अनुसन्धान भइरहेको छ । यसमध्ये एक पक्ष अपराधको आयोजना गर्न युक्रेनी गुप्तचर सेवाहरूको सम्भावित भूमिका पनि हो ।”  युक्रेनले अहिलेसम्म यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

रोयटर्सका अनुसार, करिब चार वर्षदेखि जारी युद्धका क्रममा युक्रेन युद्धसँग सम्बन्धित धेरै रुसी सैन्य व्यक्तित्वहरू तथा उच्च–प्रोफाइल समर्थकहरूको हत्या भइसकेको छ । एएफपीले यो पछिल्लो आक्रमण विगतमा भएका सैन्य अधिकारीहरू र युद्ध समर्थक व्यक्तिहरूको हत्यासँग मिल्दोजुल्दो भएको बताएको छ ।

विस्फोट आवासीय क्षेत्रमा भएको थियो । यहाँका एक बासिन्दाले एएफपीलाई भने, “हामीले यसको कुनै अपेक्षा नै गरेका थिएनौँ । हामी सुरक्षित छौँ भन्ने सोचेका थियौँ, तर अचानक हाम्रै नजिकै यस्तो घटना भयो ।”

अर्की एक बासिन्दाले भनिन्, “यो युद्धको मूल्य हो ।” डीडब्ल्यू

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ