विराटनगरविरुद्ध सुदूरपश्चिमले दियो १५६ रनको लक्ष्य

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्स विरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको हो ।

सुदूरपश्चिमबाट ओपनिङमा आएका विनोदले ५२ बलमा ६३ रन बनाए । उनले तीन चौका र दुई छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा विनोदको यो दोस्रो अर्धशतक हो । विनोदलाई १९औँ ओभरको अन्तिम बलमा प्रतिश जिसीले साम हेजलेटबाट क्याच गराएका थिए ।

सेल्डन ज्याक्सनले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । हर्मित सिंहले १४ र इशान पाण्डेले १३ रन बनाए । १२.५ ओभरमा इशानलाई विराटनगरका नरेन भट्टले ‘लङ अन’ मा उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएका थिए । साम हेजलेटको बलिङमा नरेनले इशानको प्रहारलाई एक हातले बाउन्ड्री बाहिरबाट हावामा समात्दै पुनः बाउन्ड्रीभित्रबाट क्याच लिएका थिए ।

आरिफ सेखले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन थपे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले भने तीन रनमात्र बनाउन सके । बसिर अहमेदले गरेको १३.३ ओभरमा ऐरीलाई मर्चेन्ट डी लांगे र विकेटकिपर लोकेश बमले रनआउट गरेका थिए ।

विराटनगरका मर्चेन्ट डी लांगे र प्रतिश जिसीले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए ।

यी दुई टिम लिग चरणमा भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरले ब्रेक लगाएको थियो । लिग चरणमा सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेटमात्र गुमाएर भेट्टाएको थियो ।

लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै प्लेअफमा स्थान पक्का गर्नेछ । यता, हार्ने टिमले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९