काठमाडौँ, १ मंसिर । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले हरेक पीडालाई ‘स्वीट पेन’ (मीठो दुखाइ) को रूपमा लिएर अघि बढ्ने बताएका छन् ।
आज आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा भएको आगलागीको घटनासम्मको तितो अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । गुरुङले आफूलाई राज्यले लगाएको कर छलीको आरोपदेखि हालैको आन्दोलनमा ठुलो क्षति पुगेको बताए।
उनले भने, ‘जब २०५४ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भयो, देश धनी हुन्छ र म धनी देशको नागरिक हुन्छु भनेर म धेरै खुसी थिएँ,’ ‘तर पछि मलाई नै नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोप लाग्यो ।’
हालै ‘जेनजी’ आन्दोलनको क्रममा भाटभटेनीमा भएको आगलागीको घटनाले आफूलाई अर्को ठुलो चोट दिएको उनले बताए । दसैँ –तिहारका लागि ठुलो परिमाणमा सामान भण्डारण गरिए पनि नियमित अवधिको मात्रै बीमा भएकाले ठुलो क्षति व्यहोर्नुपरेको उनले स्वीकारे । यद्यपि, यो घटनाबाट पनि आफू पछि नहट्ने उनले दृढता व्यक्त गरे । ‘मसँग हजारौँ कर्मचारी, बैंक, सप्लायर र यो देशप्रतिको जिम्मेवारी छ, म अगाडि बढ्छु’ उनले भने ।






