अख्तियारले थाल्यो त्रिविको जग्गा अतिक्रमणको छानबिन

काठमाडौँ, २७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

सरकारले गठन गरेको त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको औंल्याउँदै कारबाहीका लागि सिफारिस गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रतिवेदन झिकाएर अध्ययन र छानबिन अघि बढाइएको छ ।

पूर्वसहसचिव महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित समितिले जग्गा अतिक्रमण गर्नेलाई अख्तियार, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रहरी–प्रशासनमा थप छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने औंल्याएको छ । ल्याब स्कुलका सञ्चालकहरूले कीर्ते कागजात खडा गरी विश्वविद्यालयको जग्गा हत्याउने प्रयास गरेको खोजबिन समितिले औंल्याएको छ । त्रिवि पदाधिकारीले सरकारको सहयोगबिना अतिक्रमित जग्गा फिर्ता ल्याउन नसक्ने बताउँदै आएका छन् ।

त्रिवि स्थापना र सञ्चालनका लागि सरकारले २०१३ र २०३० सालमा अधिग्रहण गरेर लिएको ५ हजार २ सय १८ रोपनी जमिनमध्ये करिब २ हजार ५ सय ३९ रोपनी जग्गा अतिक्रमणमा परेको पाइएको खोजबिन समितिले जनाएको छ । कीर्तिपुर परिसरमा रहेको करिब १ हजार ८ सय ४३ रोपनी जग्गा संकुचन र हिनामिना भएको देखिएको छ । यस्तै, कीर्तिपुरबाहिर रहेको ६ सय ९६ रोपनी जग्गा पनि अतिक्रमणमा परेको विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ को प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय कार्यालय कीर्तिपुरमा करिब ८ सय ४३ रोपनी जग्गा २१ संस्था र समूहले अतिक्रमण तथा भोगचलन गर्दै आएको समितिले जनाएको छ । त्रिविअन्तर्गत काठमाडौं उपत्यकाका आंगिक (सरकारी) क्याम्पसका १ सय ४८ रोपनी १५ आना जग्गासमेत हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंका २२ मध्ये १८ क्याम्पसको स्थलगत अवलोकन गरी जग्गाजमिनको खोजी गरेको थियो । जसमा सात क्याम्पसका करिब डेढ सय रोपनी जग्गा अतिक्रमण भएको पाइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका आंगिक क्याम्पसका १ हजार २ सय ५३ रोपनी जग्गाजमिन रहेको समेत समितिले जनाएको छ ।

जग्गा खोजबिन समितिअनुसार कीर्तिपुरमा लेबोरोटरी स्कुल, राधास्वामी सत्संग व्यास नेपाल, नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघ, बीपी कोइराला मेमोरियल प्यानेटोरियम, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल नेत्रज्योति संघले त्रिविको जग्गा उपयोग गर्दै आएका छन् । त्यस्तै, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, प्रहरी वृत्त कीर्तिपुर, बल्खु र कालीमाटी, लायन्स रक्त सञ्चार केन्द्र, नेपाल क्रिकेट संघ, त्रिवि कभर्डहलले पनि त्रिविको जग्गा उपभोग गर्दै आएको समितिको प्रतिवेदनमा छ । काठमाडौं खानेपानी बोर्ड, कृषि बागबानी केन्द्र, कीर्तिपुर नगरपालिका, ढुंगा, गिट्टी, बालुवा डिपो, नेपाल विद्युत् प्राधिकरणले समेत त्रिविको जग्गा प्रयोग गर्दै आएका छन् ।

ल्याब स्कुलले प्रयोग गर्दै आएको १ सय ८ रोपनी जग्गाको विषयमा अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट थप छानबिन र अनुसन्धान गर्नॅपर्ने सिफारिस समितिले गरेको छ । समितिको प्रतिवेदनमा स्कुलले विश्वविद्यालयको जग्गा अनधिकृत कब्जा गरी भोगचलन गर्दै आएको औंल्याएको छ ।

कीर्तिपुर परिसर बाहिर नैकाप, डिल्लीबजार, त्रिपुरेश्वर, लुभु, कपन र स्वयम्भूमा गरी ६ सय ९६ रोपनी जग्गा अतिक्रमणमा परेको औंल्याइएको छ । नैकाप, लुभु, कपन र स्वयम्भूको जग्गा अलपत्र रहेकाले त्रिविको स्वामित्वमा ल्याउनुपर्ने सिफारिस समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेको छ ।  आज नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६

काठमाडौँ, १ मंसिर । झापामा ‘जेनजी’ आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट

काठमाडौँ, १ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका

काठमाडौँ, १ मंसिर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उक्त धनमाल चोरीको आरोपमा नुवाकोटको बिदुर