काठमाडौँ, २५ कार्तिक । भारतको राजधानी नयाँ दिल्लीमा रहेको लाल किल्ला रेल स्टेसन नजिकै हिजो बेलुकी भएको विस्फोटमा परी कम्तीमा आठ जनाको ज्यान गएको छ ।
घटनामा अरू सात जना घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा पुर्याउँदा आठ जनाको ज्यान गइसकेको र अरू सात जनाको उपचार भइरहेको जनाएको छ ।
दिल्ली प्रहरीका उच्च अधिकारीले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
विस्फोटपछि सरकारी भवन, मेट्रो स्टेसन, एयरपोर्टसहित विभिन्न महत्त्वपूर्ण स्थानहरूको सुरक्षा कडा पारिएको छ ।
केन्द्रीय औद्योगिक सुरक्षा बलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेको छ, ‘लालकिल्ला मेट्रो स्टेसन छेउमा भएको विस्फोटका कारण दिल्ली मेट्रो, लालकिल्ला, सरकारी कार्यालयहरू र आइजीआई एयरपोर्टलगायत एनसीआर क्षेत्रमा उच्च सतर्कतामा राखिएको छ ।”







