एजेन्सी, १४ कार्तिक । हमाससँगको युद्ध सुरु भएपछि इजरायलले वेस्ट बैंकका सहर र बस्तीहरूमा करिब एक हजार ब्यारिकेड स्थापना गरेको छ । ब्यारिकेडले प्यालेस्टिनीहरूको आवागमन र दैनिक जीवनलाई अझ कठिन बनाएको छ ।
इजरायली सेनाले सन् १९६७ को मध्यपूर्व युद्धपछि नै वेस्ट बैंकमा मानिसको आवागमन र पहुँचमा नियन्त्रण लगाउँदै आएको छ । तर, स्थानीयवासीहरूका अनुसार हालै जडान गरिएका नयाँ ब्यारिकेडहरूको संख्या अहिलेसम्मकै धेरै भएको समाचारमा उल्लेख छ ।
प्यालेस्टिनी सरकारी संस्था ‘वाल एन्ड सेटलमेन्ट रेसिस्टेन्स कमिशन’का अनुसार ७ अक्टोबर २०२३ मा हमासको नेतृत्वमा भएको आक्रमणपछि ९१६ वटा गेट, ब्यारिकेड र पर्खालहरू निर्माण गरिएको छ ।
वेस्ट बैंकमा इजरायली सेनाको छापामार्ने क्रम बढेको छ । जसमा धेरै प्यालेस्टिनीहरू मारिएका छन् भने गिरफ्तार भएको बताइएको छ ।
नयाँ ब्यारिकेडहरूमा धातुका गेटहरू पनि समावेश छन्, जुन धेरै गाउँ र सहरहरूको प्रवेशद्वारमा तथा सहरहरूबीच स्थापना गरिएका छन् । यी गेटहरूले मानिसहरूको आवागमन रोक्छन् । कहिलेकाहीँ त्यहाँ इजरायली सेना पनि तैनाथ रहन्छ ।
प्यालेस्टिनीहरूले यी गेटहरू अनियमित रूपमा खोलिने र बन्द हुने गरेको बताइएको छ । यसका कारण यात्रा गर्दा घर आउन नपाएर मानिसहरू कहिलेकाहीँ साथी वा आफन्तको घरमा सुत्न जान बाध्य हुनुपरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार, सेप्टेम्बरको पहिलो दुई हप्तामा मात्र वेस्ट बैंकमा १८ वटा नयाँ गेट थपिएका छन् । यसका अतिरिक्त, ठूला माटोका ढिस्काहरू र कंक्रिटका ब्यारियरहरू पनि छन्, जसले प्यालेस्टिनीहरूको आवागमनसँगै स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा पहुँच अवरुद्ध गर्छन् ।
नयाँ गेटहरूमध्ये केहीले उत्तरी र दक्षिणी वेस्ट बैंक जोड्ने मुख्य सडकहरूलाई पनि बन्द गरेका छन् । यसले करिब तीस लाख प्यालेस्टिनीहरूलाई घुमाउरोबाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको बताइएको छ ।
इजरायली सेनाको भनाइमा, यी गेटहरू मानिसहरूलाई रोक्नका लागि नभएर उनीहरूको गतिविधिलाई नियन्त्रण र निगरानी गर्नका लागि प्रयोग गरिने बताएको छ । नाम नबताउने शर्तमा एक सैन्य अधिकारीले बताए, “हाम्रो बल वेस्ट बैंकमा जटिल सुरक्षा परिस्थितिमा कार्यरत छ, जहाँ चरमपन्थीहरू सामान्य नागरिकबीच लुकेका हुन्छन्, त्यसैले विभिन्न क्षेत्रहरूमा निरन्तर निगरानी आवश्यक छ ।”
केही गेटहरूमा निगरानी क्यामेरा पनि जडान गरिएका छन् । यी अवरोधकहरूले उनीहरूको दैनिक जीवनमा गम्भीर असर पारेको बताएका छन् । एपी







