एजेन्सी, १३ कार्तिक । बेलायतमा गैर कानुनी काम गरिरहेका आप्रवासीमाथि सरकारले धरपकड तीव्र पारेको छ ।
अध्यागमन अधिकारीहरुले आवास वा व्यवसायहरुमा छापा मारेर गिरफ्तारी बढाइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
इमिग्रेसन इन्फोर्समेन्ट टोलीले बेलायती इतिहासमै सबैभन्दा बढी छापा मार्दा अवैध काम गर्नेहरुको गिरफ्तारी संख्या ६३ प्रतिशतले बढेको गृह मन्त्रालय (होम अफिस) ले जनाएको छ ।
अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्म अध्यागमन अधिकारीहरुले ११ हजार छापा मारेर ८ हजार २०० बढी अवैध आप्रवासीलाई पक्राउ गरेका नयाँ तथ्याङ्कमा छ ।
तथ्याङ्क अनुसार गिरफ्तारी र छापा मार्न क्रमशः ६३ र ५१ प्रतिशत वृद्धि भएको पाइएको छ । यी अपरेरशनमा समातिएका १ हजार ५० बढी विदेशी नागरिकलाई देशबाट हटाइएको होम अफिसको वेवसाइटमा उल्लेख छ ।
गृह मन्त्रालय (होम अफिस) को तथ्याङ्क अनुसार अधिकारीहरुले यस वर्ष सेप्टेम्बरसम्म १२ महिनामा झण्डै २१ हजार ८५८ भिजिटमा आप्रवासीका भिजा स्टाटस खोजतलास गरेका छन् ।
यो संख्या अघिल्लो १२ महिनाको अवधिमा भएको १५ हजार ८९४ बाट ३८ प्रतिशतले बढी र सेप्टेम्बर २०१२ सम्मको सोही अवधिमा गरिएका १३ हजार ९९० भिजिट भन्दा ५६ प्रतिशत वृद्धि भएको छ । यसअघि सेप्टेम्बर २०१५ मा एक वर्षमा २० हजार ९८९ भिजिट भएको थियो जुन अहिलेको बाहेक उच्च थियो ।







