एजेन्सी, १२ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्।
इजरायलले हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाएको छ ।
यस घटनापछि सुरक्षा सल्लाहकारहरूसँग छलफल गरी नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका छन्। यसले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झटका लागेको छ।
इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो।
नेतान्याहूले हमासमाथि अर्को आरोप पनि लगाएका छन् । त्यो हो, युद्धविराम सम्झौताअनुसार फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरिएको। उनले यो सम्झौतामाथिको स्पष्ट उल्लंघन भएको बताए।
सम्झौताअनुसार हमासले सबै इजरायली बन्धकका शवहरू यथाशीघ्र फिर्ता गर्नुपर्ने थियो।







