काठमाडौँ, ११ कार्तिक । एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौं महाधिवेशन पोखरामा मंसिर २७–२९ मा गर्ने निर्णय गरेको छ ।
पार्टीका कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार कार्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ । सो बैठकले महाधिवेशन प्रतिनिधी छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिती गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । ति नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।
पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारीसुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यलय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रीत काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिनुभयो ।





