झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको ६ भने बाँकी ६ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन् । बसमा २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का राजु भुजेलसहित झापा गाउँपालिका–३ का इक्षा लिम्बू, कचनकवल–४ का रविलाल गणेश, कचनकवल–४ की परिना गणेश, बिर्तामोड–१० की सिमित्रा खड्का कार्की, उनको छोरा एलोन, त्यसैगरी, झापा कचनकवल–६ की भेमा राजवंशी, बिर्तामोड–५ का रामकुमार श्रेष्ठ, उनको छोरा रिदम, बिर्तामोड–५ का पूर्णबहादुर नेपाली, सोही स्थानकी शितल नेपाली, बाह्रदशी–५ का अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, रामेछाप मन्थली–१० का अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली–९ का भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ का मिटु खत्री, दोलाखा बैनेश्वर–३ का प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का कुमार बस्याल घाइते भएका छन् ।





