काठमाडौँ, १० कार्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् ।
छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अर्घ्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको बताएका छन् । छठ पर्वले हामीलाई खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”





