काठमाडौँ, ९ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले देशमा विकसित राजनीतिक घटनाक्रमका बीच हुन लागेको प्रदर्शनबारे गम्भीर ध्यानाकर्षण जनाउँदै नागरिक अधिकारको सम्मान गर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने, सभासम्मेलन गर्ने र आफ्ना माग राख्ने हरेक नागरिकको अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुने उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा भेला हुने, प्रदर्शन गर्ने तथा आफ्ना माग राख्ने अधिकार नागरिकको मौलिक हक हो। यस अधिकारको सम्मान र उपभोगको सहज वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।’
आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपालको संविधानले नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको स्मरण गराउँदै, प्रदर्शनको क्रममा नागरिक अधिकारमा अवरोध नआओस् भनी सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएको छ ।






