काठमाडौँ, ९ कार्तिक । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ३ कात्तिकमा एउटा फोटो फेसबुकमा पोस्ट गरे । फोटो हेर्दा हेलमेट लगाएका दुई युवायुवतीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेकोजस्तो देखिन्छ ।
क्याप्सनमा उनले लेखेका थिए, ‘दुबैजनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुनसक्छ ? अनुमान लगाउनूस ।’ उनले यो क्याप्सनमा ‘ट्राफिक नियम पालना गरौं’ र उनी अभिनित फिल्म ‘जेरी अन टप’ ह्यासट्याग पनि उल्लेख गरेका छन् ।
अनि कमेन्टमा उनले लेखेका थिए, ‘यसको उत्तर हो- लुकिङ ग्लास लुज भएर फनफनी घुमिरहेको थियो ।’
माग्ने बुढाले उक्त पोस्ट गरेपछि सामाजिक सञ्जालमा उक्त फोटोलाई सेयर गर्दै धेरै पेज र व्यक्तिले गलत अर्थ लाग्ने गरि भाइरल तुल्याउन थाले । कतिपयले धरानमा ट्राफिक चेकजाँचको क्रममा एकजना ट्राफिकले आफ्नो श्रीमतीलाई अर्कैको मोटरसाइकलमा भेटेको भनेर पनि लेखे ।
यसरी, उक्त फोटो यथार्थभन्दा पुरै भिन्न रुपमा सेयर हुन लाग्यो । यो घटनाक्रममा माग्ने बुढाले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । आफूले जनचेतनामूलक सन्देशको लागि उक्त फोटो पोस्ट गरेको दाबी केदारले गरेका छन् ।
‘यसबाट हुन गएको मानमर्दनप्रति क्षमाप्रार्थी छु’ उनले लेखेका छन् ।






