काठमाडौँ, ८ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी आफूले पाएको पनि बताए ।
उनले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ । संवादबाटै समस्याको समाधान चाहन्छौं ।’





