काठमाडौँ, ३१ असोज । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । नेपाल र ओमान दुई खेल अगाडि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।
आजको खेल नेपालका लागि फाइनल बराबर हो । उपाधिका लागि शुक्रबार दिउँसो ४:१५ बजे नेपालले ओमानको मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सामाओलाई हराएमा अपराजित रहँदै १० अंक जोडेर उपाधि उचाल्ने छ । नेपाल पराजित भएर ओमानले जापानलाई हराए रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टिमले उपाधि उचाल्ने छ । ओमान जापानसँग पराजित भए सामाओसँगको खेलको नतिजा अगाडि नै नेपालले उपाधि उचाल्ने छ । जापान र ओमानको खेल आजै बिहान ११ : ४५ बजे सुरु हुँदैछ ।






