काठमाडौँ, २९ असोज । जेन जी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीनदिनसम्म चल्नेछ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रष्तुत गर्नुहुनेछ । प्रतिवेदनमा समसामयिक राजनीति, जेन जी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषयमा समेटिने छन् । यसैगरीअलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको,सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको बिषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ ।
गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने छ । यसैगरी लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो ।