काठमाडौँ, २९ असोज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ ।
हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो ।
अब अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ, जुन मलेसियाको बराबरी हो। अमेरिकी पासपोर्टवाहक नागरिक २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छ । सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ, जसले १९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया १९० देशमा र तेस्रोमा जापान १८९ देशमा भिसा बिना प्रवेश पाउने हैसियतमा छन् ।
इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत छ भने भारतीय पासपोर्ट ७७औं स्थानमा पुगेको छ । सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गर्दा नेपाल यथास्थितिमा रहेको हो । भारतले ५९ देशमा अनअराइभल भिसा पाउँछ भने नेपालले ३६ देशमा ।
नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।