काठमाडौँ, २६ असोज । गएको जनवरी महिनादेखि डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ७४ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार एक हप्तामा मात्रै चार सय १३ नयाँ सङ्क्रमित थपिएका छन् ।
अहिलेसम्म डोल्पा र मनाङ बाहेक ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा एक हजार पाँच सय दुई जना छन् । बागमतीमा एक हजार तीन सय ८० जना, लुम्बिनीमा नौ सय ९१ जना, कोशीमा आठ सय तीन जना, सुदूरपश्चिममा छ सय ८४ जना, मधेशमा एक सय २४ जना र कर्णालीमा तीन सय ९० जना सङ्क्रमित रहेका छन् ।
जनवरी १ तारिखपछि डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ ।






