काठमाडौँ, २६ असोज । पर्साका १४ वटै स्थानीय तहमा आजदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
पर्सामा गएको भदौ पहिलो साता हैजाको संक्रमणका बिरामी देखा परेका थिए ।
१४ वटै पालिकामा असोज २६ देखि आउँदो कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय पर्सा जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा पठाइएको जनाएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।






