गाजापट्टी, ८ असोज । इजरायली सेनाले बुधबार गाजामा घर र शिविरहरूमा आक्रमण गर्दा कम्तीमा १५ प्यालेस्टिनी मारिएको गाजाको नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।
इजरायलले गाजा सहरमा ठुलो हवाई र भूमि आक्रमण सुरु गरेको छ । आक्रमणपछि लाखौँ मानिसलाई सहर छाड्न बाध्य पारेको छ । केही मानिसले केन्द्रमा शरण लिएको बेला हवाई आक्रमणले प्रहार गरेको प्रवक्ता महमुद बासलले बताए ।
उनका अनुसार नगरपालिकाको गोदाम र फिरास बजार नजिक विस्थापितहरूको त्रिपालमा गरिएको तीनवटा हवाई आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भयो । तीमध्ये धेरै बालबालिका थिए । अन्य आक्रमणमा अल–सहाबा स्ट्रिटको अपार्टमेन्टमा दुई र अल–यर्मोक बजार क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।
मध्य गाजाको नुसिरातमा हेलिकप्टर आक्रमणले चार जनाको ज्यान लियो भने नजिकैको अर्को घरमा हवाई प्रहारमा एक जनाको मृत्यु भएको नागरिक सुरक्षाले जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दुई वर्षयता इजरायली कारबाहीले ६५ हजार तीन सय ८२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसलाई भरपर्दो तथ्याङ्क मानेको छ ।







