एजेन्सी, १९ भदौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको निन्दा गर्दै आफ्ना बेल्जियमका समकक्षीलाई ‘कमजोर नेता’ को संज्ञा दिएका छन् ।
“इजरायलसँगको सहकार्यलाई बलिदान दिएर इस्लामिक आतङ्कवादलाई खुसी पार्न चाहने बेल्जियमका प्रधानमन्त्री (बार्ट) डे वेभर एक ‘कमजोर नेता’ साबित हुनुभएको छ । उनले बेल्जियमलाई खानुअघि गोहीलाई खुवाउन चाहनुहुन्छ,” नेतन्याहूको कार्यालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा लेखेको छ।
अस्ट्रेलिया, क्यानडा र फ्रान्सले पनि प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने निर्णयको घोषणा गरेपछि बेल्जियमले यसै महिना संयुक्त राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेको छ ।
बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रिभोटले ‘एक्स’ मा एक पोस्ट गर्दै गाजामा भइरहेको मानवीय त्रासदीलाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएका छन् ।
इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय कदमपछि कब्जा गरिएको पश्चिम किनाराको केही भागलाई गाभिनुपर्ने बताएका छन् ।
गाजामा आफ्नो करिब दुई वर्ष लामो अभियान अन्त्य गर्न देश तथा विदेशमा बढ्दो दबाबका बावजुद इजरायलले हालै गाजा सहर कब्जा गर्ने आधार तयार पार्दै अभियानलाई तीव्र बनाएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको घोषणा गरेको छ।







