ललितपुर, १७ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआई प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ ।
ललितपुरमा सोमबार नेपाल टेलिकम (एनटिसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटर्वक व्यापक बनाउन पनि आग्रह गर्नुभएको छ । उहाँले काठमाडौँ र पोखराबाट फाइभजीको विस्तार गर्ने पनि बताउनुभयो । त्यसैगरी, नेपाल टेलिकम जनताको अति आवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिनुभयो ।
उहाँका अनुसार सरकारको डिजीटल फ्रेमवर्क (डिएनएफ) को उद्देश्य पूरा गर्न, डिजीटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साउथ एसियामै फाइभजी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकैपछि परेका छौँ । प्रधानमन्त्री र मबिच फाइभजी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।”