एजेन्सी, १७ भदौ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा परेर ८०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
हजारौँ घाइते भएका छन् । बाँचेकाहरूले खुला आकाशमुनि रात बिताएका छन् । उद्धार कार्य अझै जारी रहेको बीबीसीले जनाएको छ ।
आइतबार राति गएको ६.० म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेमा अधिकांश कुनार प्रान्तका छन् । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको उक्त पहाडी गाउँ ध्वस्त भएकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।
धेरै देशहरूले सहयोगको प्रतिबद्धता गरे पनि गाउँहरूमा अझै पनि पुग्न नसकेको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा घाइतेहरूको चाप बढेको छ ।
अफगानिस्तानमा गम्भीर खडेरी, सहायता कटौती र विश्व खाद्य कार्यक्रमले भोकमरीको संकट हुने भनेको अवस्थामा यो विपत्ति थपिएको बताइएको छ ।
आइतबार स्थानीय समयअनुसार राति ११ : ४७ मा देशको पाँचौं ठूलो सहर, पूर्वी नान्गाहार प्रान्तको जलालाबादबाट करिब २७ किलोमिटर पूर्वमा भूकम्प गएको थियो । यस क्षेत्रमा विगत केही दिनदेखि भीषण बाढी र पहिरो पनि गएको छ, जसले गर्दा धेरै क्षेत्रहरूमा पुग्ने बाटो बन्द भएको छ ।
सडकहरू अवरुद्ध भएकाले सरकारी उद्धार कार्यहरू हवाई मार्गबाट गर्नुपर्ने भएको बताइएको छ । भग्नावशेषमुनि घण्टौँ फसेर उद्धारकर्मीहरूको प्रतीक्षा गर्दागर्दै मानिसहरूको मृत्यु भइरहेको रिपोर्ट प्राप्त भएको समाचारमा उल्लेख छ । बीबीसी







