काठमाडौँ, १ भदौ । लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का एपिसोडहरूलाई ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा समेत हेर्न पाइने भएको छ ।
‘शार्क ट्यांक नेपाल’का पछिल्ला दुई एपिसोड १३ र १४ लाई भारतको सोनी टिभीले ‘शार्क ट्यांक इन्डिया’को युट्युब च्यानलमा अपलोड गरेको छ ।
‘शार्क ट्यांक’को नेपालको आधिकारिक प्रसारण संस्था हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार ‘शार्क ट्यांक नेपाल’का अघिल्ला र आगामी एपिसोड पनि ‘शार्क ट्यांक इन्डिया’का युट्युब च्यानलमा आउनेछन् ।
उनका अनुसार प्राविधिक कारणले पछिल्ला एपिसोड हिमालय टिभीको युट्युबमा आउन नसकेपनि आउने सातादेखि भने दर्शकले हिमालय टिभीकै युट्युब च्यानलमा निरन्तर हेर्न पाउनेछन् ।
‘केही प्राविधिक कारण थियो । आउने सातादेखि हिमालय टिभीकै युट्युब च्यानलमा दर्शकले हेर्न पाउनुहुनेछ । साथै, शार्क ट्यांक इन्डियामा पनि हेर्न पाउनुहुनेछ’ उनले भने ।






