काठमाडौँ, २६ साउन । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकता सम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् ।
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको बताए ।
उनले भने, “सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो । त्यसको बुवाको पत्ता छैन अथवा म ल्याउन सक्दैन भनेर भनेको अवस्थामा आमाले स्वघोषणा गरेको अवस्थामा त्यसको सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ,” “यसले आमा/महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।”
उनले आमाको स्वघोषणा गलत सिद्ध भएमा नागरिकताका बारेमा प्रश्न गर्ने र सजायको व्यवस्था समेत गरिएको बताए ।






