एजेन्सी, २३ साउन । सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य प्रकारका प्लास्टिकमध्ये दुई तिहाइ उत्पादन गरेको तथ्याङ्कले देखाएको छ ।
बेलायती वातावरणीय परामर्शदाता ‘युनोमिया’ र जलवायु तथा ऊर्जा अनुसन्धान समूह ‘जिरो कार्बन एनालिटिक्स’ले विश्वका सात वटा देशले सामान्य प्रकारका प्लास्टिकको दुई तिहाइ हिस्सा उत्पादन गरेका जनाएका छन् ।
धेरै प्लास्टिक उत्पादन गर्ने मुलुकमध्ये पनि छ वटा मुलुकले उत्पादन गर्ने सामान्य प्लास्टिकको मात्रा चीन एक्लैले उत्पादन गर्नेगरेको तथ्याङ्कले देखाउँछ । विश्वका १८४ देशले जेनेभामा प्लास्टिक प्रदुषणको समस्या अन्त्य गर्ने उद्देश्यले पहिलो पटक भएको सन्धिको वार्तामा साझा आधार खोज्ने प्रयास गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
‘युनोमिया’ र ‘जिरो कार्बन एनालिटिक्स’ को अध्ययनले सबैभन्दा व्यापक रूपमा प्रयोग हुने प्लास्टिकको शुद्ध उत्पादन (भर्जिन पोलिमर) को उत्पादनमा ध्यान केन्द्रित गर्दछ । पोलिथिलीन (पिई), पोलिप्रोपाइलीन (पिपी), पोलिथिलिन टेरेफथलेट (पिइटी) र पोलिस्टिरिन (पिएस) सामान्यतया पेय बोतलहरूमा प्रयोग गरिन्छ ।
गत वर्ष ठूला चार वटा पोलिमर प्लास्टिकको उत्पादनमा चीन ३४ प्रतिशत, संयुक्त राज्य अमेरिका १३ प्रतिशत र साउदी अरब पाँच प्रतिशत जिम्मेवार रहेको अध्ययनले देखाएको छ।
त्यसैगरी दक्षिण कोरिया पाँच प्रतिशत, भारत चार प्रतिशत, जापान तीन प्रतिशत र जर्मनी दुई प्रतिशत पोलिमर प्लास्टिकको उत्पादनका लागि जिम्मेवार छन् ।
वुड म्याकेन्जीका अनुसार विश्वको अग्रणी उत्पादक चीनको सरकारी स्वामित्वको चाइना पेट्रोलियम एन्ड केमिकल कर्पोरेसन (सिनोपेक) हो ।
सिनोपेकले मात्र विश्वको ५.४ प्रतिशत प्लास्टिक उत्पादन गर्छ ।







