काठमाडौँ, ८ साउन । भारतले पाँच वर्षपछि चिनियाँ नागरिकलाई पर्यटक भिजा दिन सुरु गर्ने निर्णय गरेको छ। बेजिङस्थित भारतीय दूतावासका अनुसार बिहीबार, २४ जुलाई (आज) देखि चिनियाँ पर्यटकहरूलाई भिजा दिने प्रक्रिया सुरु गरिनेछ ।
यो निर्णय २०२० मा गलवान घटनापछि बिग्रिएको भारत–चीन सम्बन्धमा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।
चीनको विदेश मन्त्रालयले भारतको निर्णयलाई स्वागत गर्दै भनेको छ, “भारतको यो कदम सकारात्मक छ। पर्यटन र आपसी आवागमन दुवै देशका लागि लाभदायक हुनेछन् ।” साथै चीनले भारतसँग सम्पर्कमा रहेर पर्यटन सुधारमा सहयोग गर्दै आएको पनि उल्लेख गरेको छ । कोरोना महामारी र गलवान झडपपछि दुवै देशले एक–अर्कामाथि वाणिज्य र यात्रासम्बन्धी कयौँ प्रतिबन्ध लगाएका थिए । तर जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा पुनः सुरु भएपछि सम्बन्धमा सुधारको सङ्केत देखिन थालेको हो ।






