एजेन्सी, २ साउन । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । २०२२ मा रुसी आक्रमण सुरु भएपछि उनी देशको पहिलो नयाँ सरकार प्रमुख बनेकी हुन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले थकित युक्रेनलाई नयाँ ऊर्जा दिन र रुसको निरन्तर आक्रमणको सामना गर्न घरेलु हतियार उत्पादन बढाउने प्रयासमा मन्त्रिपरिषद्को फेरबदल गरेको बताएका हुन् ।
राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्रीसहित सरकारी शीर्षस्थ नेताहरूलाई फेरबदल गर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री डेनिस स्मिहल युक्रेनको इतिहासमै सबैभन्दा लामो समय पाँच वर्षसम्म प्रधानमन्त्री रहेका थिए । उनी ४ मार्च २०२० मा युक्रेनको प्रधानमन्त्री बनेका थिए ।
संसदीय वेबसाइटका अनुसार स्मिहललाई प्रधानमन्त्रीबाट हटाएर रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्मा अन्य परिवर्तनहरू अपेक्षित रहे पनि प्रधानमन्त्रीका रूपमा स्विरिडेन्कोको नियुक्ति यति बेला चर्चाको विषय बनेको छ ।
अमेरिका–युक्रेन खनिज सम्झौताको वार्तामा मुख्य भूमिका खेलेकी स्विरिडेन्कोले प्रायः पश्चिमी साझेदारहरूसँग उच्चस्तरीय वार्तामा युक्रेनको प्रतिनिधित्व गर्दै आएकी छन् । जसमा रक्षा सहयोग, आर्थिक पुनरुत्थान र पुनर्निर्माणमा केन्द्रित छ ।







