एजेन्सी, २६ असार । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योललाई फेरि पक्राउ गरिएको छ ।
उनलाई गएको वर्ष गरिएको असफल सैनिक शासन प्रयासका कारण पक्राउ गरिएको हो ।
युनलाई अप्रिलमा महाभियोग लगाएर पदबाट हटाइएको थियो। उनले डिसेम्बरमा ६ घण्टाका लागि सैनिक शासन लागू गरेका थिए ।
सिओलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले बुधबार उनलाई पक्राउ गर्न आदेश दिएका हुन् । अदालतले युनले प्रमाण नष्ट गर्न सक्ने डर रहेको बताएको छ । युनमाथि ‘विद्रोहको नेतृत्व’ गरेको आरोपमा मुद्दा चल्नेछ।
बुधबार भएको सात घण्टा लामो सुनुवाइमा विशेष अभियोजन टोलीले युनलाई पक्राउ गर्न पाँचवटा मुख्य आरोपहरू प्रस्तुत गरेको थियो ।
उनलाई पहिलोपटक जनवरीमा पक्राउ गरिएको थियो । त्यतिबेला प्रहरीले उनको घरको तारबार काटेर उनलाई नियन्त्रणमा लिएको थियो। दुई महिनापछि अदालतले प्राविधिक कारण देखाउँदै रिहा गरेको थियो ।







