काठमाडौँ, ६ असार । लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा फिफा क्लब विश्वकप फुटबलमा इन्टर मियामीले युरोपियन क्लब पोर्टोलाई २–१ ले हराउँदै ऐतिहासिक जित हात पारेको छ।
एटलान्टाको मर्सिडिज बेंज स्टेडियममा गएराति भएको समूह ‘ए’ को खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै मियामीले जित निकालेको हो । खेलको पहिलो हाफमा नै पोर्टोले अग्रता बनायो। आठौं मिनेटमा सामु अगेहोवाले पेनाल्टीमार्फत गोल गर्दै पोर्टोलाई १–० को अग्रता दिलाए ।
तर दोस्रो हाफको सुरुवातमै इन्टर मियामीले बराबरी गोल फर्कायो। खेलको ४७औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेललाई १–१ मा ल्याए । त्यसपछि ५४औं मिनेटमा मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गरे । उनको लेफ्ट फूटेड शट पोर्टोका गोलकिपरले रोक्न सकेनन् र इन्टर मियामीले २–१ को अग्रता लियो ।
यो गोल मेस्सीको क्लब विश्व कपमा पहिलो तथा इन्टर मियामीका लागि ५०औं गोल हो । साथै, मेस्सीको यस गोलले मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीलाई पहिलोपटक क्लब विश्व कपमा युरोपेली टोलीविरुद्ध जित दिलाएको हो ।
यो जितपछि इन्टर मियामीले अब समूह चरणको अन्तिम खेलमा ब्राजिलको पाल्मेराससँग खेल्नेछ। त्यहाँ जित वा बराबरीले मियामीलाई नकआउट चरणमा प्रवेश गराउनेछ ।
गएराति भएको समूह ए कै अर्को खेलमा पाल्मेइरासले अल अहली क्लबलाई २-० गोलअन्तरले हराएको छ ।






