घोराही, १ असार। शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा घोराहीमा विस्तार गरेको छ ।
विगत १० वर्षदेखि शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको कन्सल्टेसीले आज आफ्नो नयाँ शाखाको औपचारिक शुभारम्भ गरेको हो । कन्सल्टेसी घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डे र विशिष्ट अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सविन प्रियासन रहनुभएको थियो ।

उद्घाटन कार्यक्रममा कन्सल्टेसीका सिईओ विवेक सिवाकोटीले संस्थाको विगतको यात्राको जानकारी दिंदै, कन्सल्टेसीले प्रदान गर्दै आएको सेवा तथा भावी योजनाका बारेमा प्रस्ट पार्नुभयो । उहाँले कन्सल्टेसीबाट उच्च शिक्षा अध्ययनको लागी युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगाएतका देशमा अहिले सम्म ५ सयबढि विद्यार्थी पठाउन सफल भएको बताउनुभयो ।
शाखा उद्घाटन अघि गुरुकुलमा सहयोग
शाखा उद्घाटन कार्यक्रमअघि माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले घोराहीको शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री, खाद्यान्न तथा खाना पकाउने भाँडा हस्तान्तरण गरेको थियो।
उक्त सहयोगका बारेमा जानकारी दिँदै कन्सल्टेसी घोराही शाखाका प्रमुख दिर्शान सिंहले शैक्षिक सेवा मात्र नभएर सामाजिक उत्तरदायित्व पनि कन्सल्टेसीको प्राथमिकतामा रहेको बताउनुभयो ।हस्तान्तरण कार्यक्रमको सहजिकरण युवा व्यवसायी मिनराज भाटले गर्नुभएको थियो ।







