एजेन्सी, ३० जेठ । संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन् ।
‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन् ।
‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छु: इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने ।
यता, इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले इजरायलले शुक्रबार बिहानै इरानमाथि गरेको हमलापछि स्थिति निगरानीमा राखिएको बताएका छन्।
‘हामी यति बेला जेरुसेलमस्थित अमेरिकी दूतावासमा छौँ र घटनाक्रमलाई नजिकबाट हेरिरहेका छौँ। हामी रातभर यहीँ रहनेछौँ। जेरुसेलमको शान्तिको लागि प्रार्थना गरौँ!,’ हक्काबीले एक्समा पोस्ट गरेका छन् ।







