वाशिङ्टन, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सामानमा लगाएको करले तत्कालका लागि निरन्तरता पाउने भएको छ ।
एक दिन अघि व्यापार अदालतले अमेरिकी राष्ट्रपतिले स्वतन्त्रता दिवसको दिनदेखि लागु हुने गरी लगाएको करको निर्णयमा फिर्ता गर्न भनेको थियो। यो निर्णयको विरुद्धमा ट्रम्पले पुनरावेदन गरेका थिए ।
एक दिन अघि भएको निर्णयमा ट्रम्पले अधिकार क्षेत्र पार गरेको जनाइएको थियो। साना व्यवसाय तथा समूहले निर्णय विरुद्धमा अदालतमा उपस्थिति जनाएका थिए । एक दिन अघिको सो निर्णयले ट्रम्पको आर्थिक नीतिको मुटुमै प्रहार गरेको ठहर भएको थियो ।
ट्रम्पले अदालतको निर्णयले राष्ट्रपतिको पदीय मूल्य घटाएको तथा अहिले भइरहेको वार्ता अर्थहीन बनाएको भन्दै पुनरावेदन गरेका थिए। उक्त पुनरावेदन निवेदनपछि ट्रम्पलाई अदालतले तत्काल कर नीति कार्यान्वयन गर्ने बाटो खोलिदिएको हो ।
पुनरावेदन अदालतले तत्कालका लागि यो निर्णय रोके पनि अन्तिम फैसला भइसकेको छैन। ५ जुनमा अर्को सुनुवाइ हुने छ। ट्रम्पको सल्लाहकार पिटर नभारो अदालतले अन्तिम फैसला गर्दा ट्रम्पको विपक्षमा फैसला गरे पनि कुनै रूपबाट कर उठाउने कुरामा राष्ट्रपति अडिग रहेको बताउँछन्।







